• देउवाका जिल्ला सभापति मल्ल भन्छन् : अन्तिममा सबैले निधिलाई नै समर्थन गर्छन्

  • काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाकै जिल्लाका सभापति कर्णबहादुर मल्ललाई लिएर १४ औँ महाधिवेशनको अभियान थालेका छन् ।

    सभापति शेरबहादुर देउवा निकटका महामन्त्री पूर्णबहादुर खड्काले देउवा निकटका नेताहरुलाई निधिको कार्यक्रममा नजान निर्देशन दिएको भन्दै निधिले आफूसँग निकट रहेका अन्य केन्द्रीय नेताहरुको नाम भने सार्वजनिक गरेका छैनन् ।

    निधिको सचिवालय र सम्पर्क कार्यालय उद्घाटनमा कर्ण मल्ल भने खुलेर लागेका छन् । उनले देउवालाई उमेदवार बनाउनेदेखि जिताउनेसम्मको अभियानमा निधि नै निर्णायक भएको भन्दै अब देउवाको संस्थापन निधिसँगै आएको तर्क गरेका छन् ।

    ‘शेरबहादुर देउवालाई दशौँ महाधिवेशनमा सभापतिको उमेदवार बनाउने अभियानमा विमलेन्द्र निधिनै हुनुहुन्थ्यो,’ त्यसबेलाको स्मरण गर्दै मल्लले भने, ‘त्यसपछिका महाधिवेशनमा पनि निधिले नै निरन्तर उहाँलाई अघि बढाएर अहिलेको अवस्थासम्म पु¥याउनुभएको हो ।’

    मल्लले अघिल्लो महाधिवेशनमा पनि निधिले देउवा जिताउने एकसुत्रीय अभियान बनाएर आफूले त्याग गरेका कारण देउवालाई सभापति बनाउन सम्भव भएको भन्दै त्यसको गुन देउवाले तिरेर देखाउने विश्वास व्यक्त गरे ।

    ‘कांग्रेसमा देउवा समूहको निर्माण र निरन्तरतामा निर्णायक भूमिका निधिले नै खेल्नुभएको हो,’ मल्लले भने, ‘आदरणीय सभापति शेरबहादुर देउवा यसबारे जानकार नहुने कुरै छैन । उहाँ त्यति कृतघ्न पनि हुनुहुन्न । त्यसैले, महाधिवेशनको अन्तिम उमेदवारी सार्वजनिक हुँदासम्म देउवाले नै निधिलाई सभापतिमा प्रस्ताव गर्नुहुनेछ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको स्वकीय सचिवको भूमिका पनि निर्वाह गरिसकेका मल्ल देउवाका रणनीतिक सहयोगीमध्येका मानिन्छन् ।

    जिल्लाको राजनीति, चुनावी तयारीदेखि स्वर्गीय खुमबहादुर खड्कासहितका नेताहरुलाई देउवासँग मिलाउन मल्लले ठूलो भूमिका खेलेको निकट नेताहरु बताउँछन् ।

    तर, पछिल्लो समय भने देउवा परिवारभित्रबाट बढी प्रभावित भएको र कार्यकर्तालाई न्याय नगरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन् ।

    देउवा उमेदवारमात्र बन्दादेखि अघिल्लो महाधिवेशनसम्म लगातार देउवाको प्रस्तावक बसेका कर्ण मल्ल डडेलधुराको राजनीतिमा देउवा पत्नी आरजु हावी भएको भन्दै असन्तुष्ट थिए ।

    देउवालाई नेता मान्दा उनकी पत्नी र सहयोगीहरुको ‘दास बन्नु पर्दैन’ भनेर अघिल्लो महाधिवेशन अघिदेखि नै आवाज उठाउँदै आएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय